News

अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसा

अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसा

काठमाडौँ।  अछाम जिल्लाकी १२ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिनाअघि करिब २० हप्ताको गर्भपतन गराइयो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उहाँ आफूलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकाले २० हप्ताको गर्भ हुँदासमेत परिवारको सदस्यले थाहा पाउन सकेनन् ।

बालिकालाई कुकुरले टोकेपछि उहाँका ठूलो बुवाले रेबिजविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा मात्र बालिका गर्भवती भएको थाहा पाउनुभयो र तुरुन्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग
अस्पतालमा ल्याएपछि गर्भपतन गराइएको थियो । बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कारमा परेर गर्भवती हुन पुगेकी हुन् ।

ती बालिका एक प्रतिनिधि पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । तीमध्ये पनि यौन हिंसा र शारीरिक हिंसामा धेरै परेका तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ ।

 

अपांग महिला शारीरिक हिंसा

विशेष