सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जाँदै नेता नेपाल

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका छन् । तर, भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए । १८ मंसीरको नेकपा सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका छन् ।
‘प्रधानमन्त्रीले ओलीले १५–२० दिनअघि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनेँ, परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ । मैले पनि भारतीय राजदूतसँग छलफल गरेँ। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।
भारत सरकारले १६ कात्तिकमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
माधवकुमार नेपाल सीमा विवाद विशेष दूत