प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै
काठमाडौं – एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गर्नेबारे मेडिकल टिमले तयारी थालेको छ।
'प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछुु,' प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ट्विटमा लेखेका छन्। बालुवाटार गएपछि प्रधानमन्त्री तत्काल नियमित काममा फर्किन अवस्था छैन।
बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने भएको छ। त्यसका लागि मेडिकल टिमले आवश्यक तयारी थालेको छ। त्यसका लागि बालुवाटारभित्रै 'आइसियू'स्तरको मेडिकल सेटिङ बनाउनेबारेमा पनि छलफल चलेको छ।
मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको सायमी बताउँछन्। उनका अनुसार संक्रमणको खतरा हटाउनका लागि प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल भइरहेको छ। खासगरी शल्यक्रियाको घाउ निको नभएको र पेटको संक्रमणको खतरा कायमै रहेकोले उनलाई सघनकक्षमा राखिएको हो।