स्थानीय गाई संरक्षणका लागि कालीगण्डकी किनारमा गौ-महोत्सव सुरु
बेनी। जलजला गाउँपालिका ७ मिलनचोकस्थित कालीगण्डकी किनारमा बिहीबारदेखि नेपालमै पहिलो पटक गौ-महोत्सव सुरु भएको छ । लोपोन्मुख वैदिक गाईको संरक्षण र कालञ्जर क्षेत्रको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको संयोजनमा धाइरीङको गण्डकी गोपाल गौशालाले धनधान्याचल बिराट् महायज्ञ एवम् गौमहोत्सव आयोजना गरेको हो ।
महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना,गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, स्वामी कमलनयनाचार्यले उद्घाटन गरे । स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा विस २०७२ मा गौशाला स्थापना भएको थियो ।
गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, पौराणिक महत्वको कालञ्जर क्षेत्र तथा गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
'कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ,' अध्यक्ष आचार्यले भने, 'पाँच करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।'
गौ-महोत्सव