News

मेलम्ची आउँदा पनि काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन पानी

मेलम्ची आउँदा पनि काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन पानी

काठमाडौँ।  सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ ।

११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो।  आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयोजनको कुल ९० प्रतिशत मात्र काम भएको छ । मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्नेछ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ । 

अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ । सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ । त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ ।

यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ । 

यो समाचार आजको नया पत्रिका दैनिकमा प्रकाशित छ।  

मेलम्ची खानेपानी

विशेष