News

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीले गरे परीक्षा बहिष्कार

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीले गरे परीक्षा बहिष्कार

काठमाडौंः एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहीबार प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले दावी गरेका छन् । 

परीक्षा सुरु भएको १ घण्टासम्म प्रश्नपत्र परीक्षा हल बाहिर लैजान पाइदैंन्। गण्डकी मेडिकल कलेजमा विद्यार्थीले परीक्षा बहिष्कार गर्न खोज्दा प्रहरीसँग हुलदंगा भएको थियो। त्यहि बेला प्रश्नपत्र बाहिरिएको अनुमान गरिएको छ। बिहान १० बजेबाट परीक्षा थियो। गण्डकी मेडिकल कलेजका प्रिन्सिपलका छोरा र सिईओकी छोरी लगायत केहि विद्यार्थी परीक्षा दिन हलमा प्रवेश गरेका थिए। त्यसपछि बहिष्कार गर्ने विद्यार्थी पनि हल भित्र पसेर प्र्रश्नपत्र लिएर बाहिरिएको एक विद्यार्थीले बताए।

चिकित्सा शिक्षा संघर्ष समितिले भने कलेज प्रशासनले नै प्रश्नपत्र आउट गरेको दावी गरेको छ। ‘आफ्ना छोराछोरीको मात्र परीक्षा लिने तयारी रहेछ,’ गण्डकी मेडिकल कलेजका छात्र अनित सिंन्हाले भने, ‘परीक्षा सुरु हुनुभन्दा अघि नै प्रश्नपत्र आउट गरेर हामीलाई दोष दिइएको छ।’ अतिरिक्त शुल्क फिर्ता नपाएका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा पनि बहिष्कार गर्ने कार्यक्रम थियो। त्यही क्रममा गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र नै आउट भएको हो। आन्दोलनरत विद्यार्थीले बुधबार बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका थिए। बिहिबार ४ मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्।

परीक्षा बहिष्कार गर्ने क्रममा कलेजमा तोडफोड गरेको आरोपमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका ८ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। ‘विद्यार्थी परीक्षा छाडेर बाहिर निस्किदैं थिए, प्रहरी आएर हस्तक्षेप गर्‍यो’ समितिका प्रवक्ता समेत रहेका सिंन्हाले भने, ‘प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा केहि सिसाहरू फुटयो, तोडफोड गरेको आरोपमा ३ जनालाई प्रक्राउ गरियो।’

पक्राउ परेका विद्यार्थीलाई छुटाउन जाँदा अन्य ५ जनालाई पनि नियन्त्रणमा लिइएको उनले जनाए। बढि शुल्क लिने कलेज संचालकलाई कारवाही गर्न नसक्ने प्रहरी प्रशासनले उल्टै विद्यार्थीलाई प्रक्राउ गरेको विद्यार्थीले गुनासो गरे। कलेज प्रशासन र डिन कार्यालयले भने परीक्षा सुरु भएको एक घण्टा पछिमात्र प्रश्न बाहिरिएको दावी गरेका छन्। डिन कार्यालयको परीक्षा महाशाखाले प्रश्नपत्रका बिषयमा विस्तृतमा बुझने काम भइरहेको जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

एमबीबीएस परीक्षा प्रश्नपत्र

विशेष