News

धरहराका इँटा होटल र रेस्टुरेन्टमा प्रयोजन!

धरहराका इँटा होटल र रेस्टुरेन्टमा प्रयोजन!

काठमाडौंः चारखाल मालपोत कार्यालयछेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ ।

प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । ‘पुरातात्त्विक महत्त्वका सामान व्यक्तिको घरमा राख्न पाइँदैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।

पुरातात्त्विक महत्त्वका यस्तै इँटा बबरमहलको बसेरा बुटिक होटलमा पनि राखिएको तस्बिर पत्रकार कसिसदास श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । श्रेष्ठले श्री ३ चन्द्र लेखेको धरहराको इँटा निजी होटलमा प्रयोग भएको फोटो ट्वीटरमा पोस्ट गरेका थिए । ‘मैले धरहराको इँटा भेटें,’ श्रेष्ठले भने, ‘होटलमा सोधपुछ गरेर कन्फर्म भएपछि सार्वजनिक गरेको हुँ ।’ उक्त होटलमा ६० वटा कोठा छन् । प्रत्येक कोठामा यस्ता एक–एकवटा इँटा फ्रेमभित्र राखिएको श्रेष्ठले बताए ।

केही महिनाअघि मात्र सञ्चालनमा आएकोयो होटल नेपाली वास्तुकला झल्कने गरीबनाइएको छ । बसेरा होटलकी व्यापार संयोजक हेलेन घिमिरेले भने धरहराको इँटा प्रयोग नगरेको दाबी गरिन्, तर ती पुरातात्त्विक महत्त्वका इँटा कहाँबाट आए भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकिनन् या चाहिनन् । इचुबानका सञ्चालकले पनि यस्तै जवाफ दिए ।

‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ इचुबानका सञ्चालक कुमार कट्टेलले भने, ‘हामीले सञ्चालन गरेको एक वर्षमात्रै भयो ।’ पुरातात्त्विक महत्त्वका सामग्रीको कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण हुन् यी दुई ठाउँमा प्रयोग भएका इँटा । संरक्षणविद् रवीन्द्र पुरीका भनाइमा कतै बुझेर र कतै नबुझेर पुरातात्त्विक महत्त्वका वस्तुहरूको दुरुपयोग भइरहेको छ ।

प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक महत्त्वका वस्तुको स्थानान्तरणमा पनि बन्देज लगाएको छ । ‘स्थानान्तरण गर्न पाइँदैन भनेर ऐनले किटान गरेको छ,’ संरक्षणविद् पुरीले भने, ‘यस्ता सामान ओसारपसारसमेत गर्न पाइँदैन । किनबेचको त कुरै छाडौं ।’ २०७२ सालको भुइँचालो जानासाथ धरहराका इँटा भन्दै टिपेर लैजाने होडबाजी नै चलेको उनले बताए । पुरीलगायत संरक्षणविद्हरूले आवाज उठाएपछि सुन्धाराबाट उठाएर धरहराका इँटा टुँडिखेलमा राखिएको थियो । ‘हामीले सुरुमै सचेत गराएका थियौं,’ पुरीले भने, ‘हामी कराएपछि टुँडिखेलमा लगेर राखियो, तर त्यहाँ पनि सुरक्षित भएजस्तो लागेन ।’

 

धरहरालगायत भूकम्पका बखत भत्केका अन्य सम्पदाका इँटालगायत वस्तुहरूको संरक्षण गर्न नसकिएको पुरातत्त्व विभागले पनि स्विकारेको छ । ‘संग्रहालयमा सबै राख्ने कुरा भएन, नमुना राख्ने हो,’ कुँवरले भने, ‘धरहराको पनि नमुना इँटा संग्रहालयमा राखेका छौं ।’ सम्पदामा प्रयोग भएका सामान नमुनाका रूपमा संग्रहालयमा राखेपछि अरू त्यहीं कतै गाडिदिने गरिएको कुँवरले बताए । ‘उत्खनन गर्दा पनि केही नमुना राखिन्छ, अरू गाडिन्छ,’ कुँवरले भने, ‘बढी भएको त्यतै डम्प गरिन्छ ।’ सम्पदाका प्रत्येक टुक्रासमेत बहुमूल्य मानिन्छ । ऐतिहासिक, दुर्लभ, कलात्मक पाटो हेरेर यसको महत्त्व निर्धारण गरिने कुँवरले उल्लेख गरे । अभिलेखसहितको इँटाले कुनै कालखण्डको इतिहाससमेत जनाउने भएकाले त्यसलाई ऐतिहासिक मूल्य भएको वस्तुको सूचीमा राखिन्छ । कुँवरका अनुसार धरहरामा श्री ३ जुद्ध र श्री ३ चन्द्र लेखिएका इँटा प्रयोग भएका छन् । अभिलेखसहितको इँटा बनाउने प्रचलन लिच्छविकालदेखि नै चलेको मानिन्छ । लिच्छवि राजाहरू मानदेव र अंशुबर्माको नाम अंकित इँटाहरूसमेत भेटिएका छन् ।

संरक्षणको सिद्धान्तअनुसार सम्पदा पुनर्निर्माण गर्दा पहिला प्रयोग भएका काम लाग्ने सामग्री प्रयोग गर्नुपर्छ । धरहरा संरक्षणको सिद्धान्तअनुसार पुनर्निर्माण भइरहेको छैन । अहिले बनाइँदै गरेको धरहरामा लिफ्टसहित आधुनिक सुविधा प्रयोग गरिनेछ । संरक्षणविद्ले यसलाई नक्कली धरहरा भन्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

इँटा धरहरा होटल प्रयोजन

विशेष