News

एआइजीमाथिको कारबाही ६ महिनामा पनि टुंगिएन, २ सातामा ६ प्रहरी पक्राउ 

एआइजीमाथिको कारबाही ६ महिनामा पनि टुंगिएन, २ सातामा ६ प्रहरी पक्राउ 

काठमाडौंः आर्थिक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एआइजी धीरु बस्नेतमाथिको कारबाही ६ महिना बित्दा पनि टुंगिएको छैन । बस्नेत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा अनियमितताको आरोप लागेपछि उनलाई त्यहाँबाट हटाएर छानबिन थालिएको थियो ।

प्रहरी मुख्यालयमा दरबन्दी राखेर एआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । अनियमिततासम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमै पुगेपछि उनलाई हटाइएको थियो । ठेक्कामा कमिसन मागेको तथा बजेटसमेत दुरुपयोग गरेको खुलेपछि उनीमाथि थप छानबिन थालिएको छ । तर, छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ ।

प्रहरी प्रवक्ता एसएसपी विश्वराज पोखरेलले एआइजीमाथिको छानबिनबारे जानकारी नभएको बताए । यो घटनाले प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता थप प्रस्ट भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

दुई सातामा ६ प्रहरी पक्राउ 

प्रहरीहरू रंगेहात पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा ६ प्रहरी भ्रष्टाचारसम्बन्धी छानबिनमा निलम्बनमा परेका छन् । बुधबार मात्र विराटनगरमा कार्यरत असइ श्यामकुमार दाहाल सात हजार घुससहित पक्राउ परेका थिए । सामान तस्करीमा सघाउने भन्दै उनले घुस लिएका थिए । 

त्यस्तै, गत १६ मंसिरमा ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगरमा कार्यरत असइ नवीनकुमार झा एक हजार घुससहित पक्राउ परेका थिए । उनले टिपरसँग घुस लिएका थिए । १३ मंसिरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर रामकिशोर साह ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । ठगी मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सइ जटाशंकरप्रसाद जटवालविरुद्ध १० मंसिरमा मुद्दा दायर भएको थियो । उनी ६० हजार घुससहित पक्राउ परेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

एआइजी प्रहरी पक्राउ  धीरु बस्नेत

विशेष