दोलखाका सिडियोले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे
दोलखा। दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ ।
उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन् । रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए ।
दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् ।
सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् ।
नयाँ पत्रिका दैनिकबाट साभार
खगेन्द्रप्रसाद रिजाल