नेपाल टेलिकमको फोरजी सेवा रारा तालमा सुरु
मुगु। नेपाल टेलिकमले आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा शुरु गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीवारबाट शुरु भएको हो ।
रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यावसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा शुरु गरिएको हो । यो सेवाको शुरुवातसँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रवर्द्धन तथा प्रचार गर्न सहज हुने नेपाल टेलिकमले बताएको छ ।
त्यस क्षेत्रमा जाने पर्यटकले अब त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारणसमेत गर्न सक्नेछन् ।समुद्री सतहभन्दा २ हजार ९७२ मिटर उचाइमा रहेको उक्त तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका छन् ।