काेहलपुर घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौँ लगियो
काेहलपुर - कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कर्फ्यु लगाइएको छ । अहिले ३ः०० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।
उहाँका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार कोहलपुरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । स्थिति सामान्य बनेपछि हटाउने निर्णय भएको छ । कर्फ्यु आदेश जारी भएसँगै काहलपुर क्षेत्र सुनसान बनेको छ । यस्तै दुर्घटनामा गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बालिकालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ भने अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते हुनुभएको छ । कफर््यु आदेश जारी भएसँगै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपील गरेका छन् । थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिनुभयो । उहाँले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताउनुभयो ।
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका चन्दको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।