धमाधम भत्काइँदै प्रधानमन्त्री निवास, प्रधानमन्त्री ओलीलाई मुख्यसचिव निवासमा सारियो
काठमाडौंः बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ ।
पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्ने छ ।
प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ। भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो । नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गरिरहेका छन्।
दुवै भवन एकसाथ निर्माण गरिने
सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवासका दुईवटै भवन एकैसाथ निर्माण सुरु गरेको छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार विभागले निजी तथा सार्वजनिक भवन एकैसाथ बनाउन थालेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।