गेष्ट हाउसबाट अमेरिकी नागरिक पक्राउ, बालिकाकाे उद्धार
काठमाडौं । बालयौन दुराचारमा संलग्न भएको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा ४० वर्षीय ज्यासन ल्योयड मुडी पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं. १०४ बाट पक्राउ गरिएको हो ।
ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।
उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ ।
पक्राउ पर्ने अमेरिकी नागरिककाे राहदानी नं. ५६७४७२५३५ रहेकाे प्रहरीले जनाएकाे छ। उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।