News

रुघाखोकीको औषधि बनाउने धूलो तस्करी

रुघाखोकीको औषधि बनाउने धूलो तस्करी

काठमाडौंः रुघाखोकीको औषधि बनाउने रासायनिक पदार्थ स्युडोइफेड्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी हुने गरेको भेटिएको छ । गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग (सेन्थेटिक ड्रग)  बनाउन प्रयोग गर्ने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बताएको छ । यसअघि मंसिर १३ मा प्रहरीले सोही लागूऔषधबाट निर्मित १ केजी २ सय ग्राम र असोज १४ मा १ केजी आइसड्रग बरामद भएको थियो ।

शनिबार ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओ ४ केजी २ सय ग्राम रसायन पदार्थसहित ठमेलबाट पक्राउ परेका छन् । नेपालमा उक्त धूलोको मूल्य २ लाख रुपैयाँ पर्छ । तर, न्युजिल्यान्डमा त्यसको मूल्य करिब ५० हजार अमेरिकी डलर पर्ने ब्युरोका अधिकारीले बताए । चीनबाट मंसिर १५ मा काठमाडौं आएका उनलाई ब्युरोले कार्गोबाट न्यूजिल्यान्ड पठाउन लागिएको लागूपदार्थसहित समातेको हो । प्रहरीलाई दिएको बयानमा चाओले न्युजिल्यान्डमा लगेर बेच्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।

चीनबाट तेस्रो मुलुक जान कडाइ गरिएकै कारण नेपाली हवाईमार्ग हुँदै उनी उक्त लागूपदार्थ न्युजिल्यान्ड पठाउने तयारीमा थिए । चिनियाँ नागरिकबाट आइसड्रगको कच्चापदार्थ बरामद भएको घटना यो पहिलो रहेको ब्युरोका एसपी वीरेन्द्र बस्यालले बताए । पक्राउ परेका चाओ लागूऔषध तस्करीका मुख्य कारोबारी भएको ब्युरोको दाबी छ । यसअघि भारत हुँदै औषधि बनाउने कच्चापदार्थ आयात हुने गरेकोमा तस्करले चीन र अन्य मुलुकबाट पनि नेपाल हुँदै यसको तस्करी गर्न थालेको अनुसन्धानबाट देखिएको छ । पछिल्लो ६ वर्षमा मात्रै लागूऔषध तस्कर र नेपालका केही औषधि उत्पादक कम्पनीले स्युडोइफेड्रिनसहितको ४ सय ९४ केजी धूलो बरामद भएको थियो ।

‘आयात र उत्पादनबीच तालमेल खान्छ कि खाँदैन भनेर अनुगमन र नियमन गर्ने हो भने औषधि बनाउने कच्चापदार्थको धूलो कति तस्करी हुन्छ भन्ने यकिन विवरण आउँछ,’ बस्यालले भने, ‘औषधि उत्पादनको नियमनमा औषधि व्यवस्था विभाग र कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त पहल आवश्यक छ।’ गत वर्ष यस्तो पाउडर ६ सय ८४ ग्राम बरामद भएकोमा ०७४ मा ४ सय ९१ केजी र ०७१ मा १५ केजी बरामद भएको ब्युरोले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

औषधि तस्करी रुघाखोकी

विशेष