News रोजगार

स्थायी शिक्षकको आवदेन अब अनलाइन प्रणालीबाट भर्न सकिने

स्थायी शिक्षकको आवदेन अब अनलाइन प्रणालीबाट भर्न सकिने

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ। परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो।

 

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए। आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो। स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो।

 

आयोगलाई टेक्नोललोजीबाट नजिक बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ। आयोगले अबदेखि विषयगत रुपमा शिक्षण अनुमतिपत्रको परीक्षा लिने, पाठ्यक्रम सुधार, अन्य विशिष्टीकरण, प्रश्नको स्तरीकरण र अप्टिकल मार्क रिडर मेसिन (ओएआर) मार्फत वस्तुगत उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका योजना अघि बढाएको जनाएको छ।

 

आयोगका अध्यक्ष ताना शर्माले आयोगलाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत आवेदन फाराम भर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए। यसले गर्दा उम्मेदवारका लागि बढी खर्चिलो र आवेदन फाराम व्यवस्थापन गर्न समस्या हुँदै आएको छ। अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था भएपछि उम्मेदवारले घरमै बसेर आवेदन दिन सक्ने शर्माको भनाइ थियो। घरबाट आवेदन फाराम भरे पनि आवेदन दस्तुर बुझाउन तोकिएको बैंकमा जानैपर्ने हुन्छ, अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेपछि परीक्षा समेत थप व्यवस्थित हुन सक्ने उनको भनाइ छ।

 

त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ। ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो । प्रमुख प्रशासकीय अधिकृत डा थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए। यो खबर आजको समाचारपत्र दैनिकबाट लिइएको हो ।

शिक्षक सेवा आयोग शिक्षक परीक्षा

विशेष