News

भृकुटीमण्डपका भाडाका पसल किन गरिए रातारात बन्द?

भृकुटीमण्डपका भाडाका पसल किन गरिए रातारात बन्द?

काठमाडौं । गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धानले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो ।

 

विशेष अदालतमा दायर भएको उक्त मुद्दामा उनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ । त्यसको भोलिपल्टै मुख्य प्रदर्शनीहलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेको १५ वटा पसल रातारात बन्द गराइएको छ ।

 

ती पसल अख्तियारको अनुसन्धानको घेरामा पर्ने डरले रातारात बन्द गराइएको हुन सक्ने आशंका गरिएको छ । ती पसल फनपार्क र यमपुचःलाई दिइएको जग्गाभन्दा बाहेकको ३ रोपनी क्षेत्रफलमा फैलिएको फनपार्कको पछाडिपट्टि मुख्य प्रदर्शनी स्थलतिर निस्कने ढोकासम्म फैलिएको स्रोतको दाबी छ । बन्द गराइएको पसलहरुमा खाजा पसलदेखि कफीसप, आइसक्रिम पसल, घोडाचढीलगायत बाल मनोरञ्जनका प्रदर्शनीको १५ वटा सटर रहेको स्रोत बताउँछ ।

 

ती सटरहरु विनाप्रतिस्पर्धा संस्थालाई भन्दा पनि समाज कल्याण परिषद्का कर्मचारीलाई मासिक बुझाउने सर्तमा राखिएको स्रोतले बताएको छ । ती सटरहरुले मासिक प्रति सटर १० देखि १२ हजार रुपियाँ मासिक भाडा बुझाउने गरेको छ । भाडा फनपार्कलाई बुझाउने गरेको भने पनि रकम परिषद्का कर्मचारी बुझ्दै आएको स्रोतले बतायो ।  यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

भृकुटीमण्डप फनपार्क

विशेष