News

प्रधानमन्त्रीको घोषणा साढे तीन वर्षमा पनि पूरा भएन, देशभर अझै २० तुइन बाँकी 

प्रधानमन्त्रीको घोषणा साढे तीन वर्षमा पनि पूरा भएन, देशभर अझै २० तुइन बाँकी 

काठमाडौं । दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलोपटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए । 

 

मुलुकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेका छन् । 

 

बाँकी तुइन हटाउन सबै स्थानीय तहलाई परिपत्र 
प्रधानमन्त्री ओलीको घोषणासँगै तुइनमुक्त बनाउने अभियानलाई सफल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्ययोजना बनाएको थियो । घोषित अवधिमा तुइन प्रतिस्थापन हुन नसकेपछि आवश्यक परेमा स्थानीय प्रशासनसमेतको सहयोग लिई यथाशक्य तुइन हटाउन मन्त्रालयले गत बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरेको छ । सहसचिव नेपालले सबै तुइन प्रतिस्थापन गरेर झोलुंगेपुल बनाउन बजेट व्यवस्थापन र ठेक्का पनि लागिसकेको बताए । ‘यही वर्षभित्र सबै तुइन हटिसक्ने विश्वास मन्त्रालयको छ,’ उनले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
 

तुइन

विशेष