News

काठमाडौंमा १८ नयाँ पार्क थपिँदै

काठमाडौंमा १८ नयाँ पार्क थपिँदै

काठमाडौं । काठमाडौंमा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् । काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक÷एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।

 

 काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर, छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नगर-नगर साझेदारिताबाट अघि बढेका हौँ ।’ उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको समग्र विकासमा नगर-नगर साझेदारी कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

काठमाडौं पार्क

विशेष