News

बसाइसराई गरी आउनेलाई पाँच लाख

बसाइसराई गरी आउनेलाई पाँच लाख

तेह्रथुम । अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे । बस्ती पातलियो । टाढा–टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरू । जनशक्ति बाहिरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे । यस्तै, स्थितिमा गाउँको विकास कसरी होला र ? त्यसैले छथर गाउँपालिकाले लक्ष्य तय गर्‍यो– १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्‍याउने । ‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रित्तिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने, ‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने ।’ गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् ।

 

‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ,’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं ।’ त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका साथमा व्यावसायिक योजना पेस गर्नुपर्नेछ । व्यवसायको प्रकृति र विस्तारका आधारमा किस्ताबन्दी रूपमा अनुदान रकम पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । कृषि व्यवसाय गर्न चाहनेलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

अनुदान बसाइसराई

विशेष