विज्ञान परिषद् गठन गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले प्रधानमन्त्री अध्यक्ष रहने विज्ञान परिषद् (साइन्स क्याबिनेट) गठन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहअध्यक्ष र सम्बन्धित मन्त्री सदस्य रहने गरी परिषद् गठन गर्न लागिएको हो । परिषद्को सचिवालयको कार्यकारी प्रमुखमा वरिष्ठ वैज्ञानिक रहने व्यवस्था गरिएको हो ।
मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७५’ को प्रारम्भिक मस्यौदामा सो विषय उल्लेख गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको मन्त्रीस्तरीय समितिले प्रारम्भिक मस्यौदा तयार गरी सो विषयमा छलफल गरेको छ । विज्ञान सचिव कृष्णराज बिसीले मन्त्रालयले तयार गरेको मस्यौदाको विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनले भने– ‘दुई साताभित्र मस्यौदा तयार गरी क्याबिनेटमा पेस गर्ने तयारी गरेका छौं । मन्त्रालयले मस्यौदाको विषयमा सुझाव लिन शुरु गरेको छ ।’ विज्ञान र प्रविधिसँग सम्बन्धित सबै विषय समेटेर तयार गरिएको प्रारम्भिक मस्यौदामा स्थानीय, प्रदेश र संघमा विज्ञान र प्रविधि विस्तारको विषय उल्लेख गरिएको छ । मस्यौदा पारित भएको ६ महिनाभित्र परिषद् गठनका लागि कार्यविधि तयार गरी स्वीकृत गर्ने भएको छ । नीति लागू भएको एक महिनाभित्र विज्ञान परिषद्को पहिलो बैठक बस्ने भएको छ ।
नेपालमापहिलो पटक २०४६ सालमा राष्ट्रिय विज्ञान प्रविधि नीति बनेको थियो । लगत्तै २०५३ सालमा विज्ञान र प्रविधिको विषयमा एक छुट्टै निकाय गठन गर्ने सरकारको निर्णयअनुसार विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
विज्ञान परिषद् गठन साइन्स क्याबिनेट