बगरखेतीबाट मनग्य आम्दानी
नारायणपुर । लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आएका छन् । उनी बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो ।
दश वर्षदेखि बगरखेती गर्दै आएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आएका छन् । “यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन”, चौधरीले भने, “अहिले बगर नै हरियाली भएको छ ।”
सहकारीले खेती गर्ने तरिका सिकाएपछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा त्यहाँका अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीका राप्तीगाउँपालिका र गढवा गाउँपालिका तथा लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको सहकारी संस्थाका अध्यक्ष दिलीपराज खनालले बताए । अहिले बगरखेती र दुग्ध परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् ।
कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनाल बताउँछन् । “बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ”, उनले भने । सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।
बगरखेतीबाट मनग्य आम्दानी