News प्रवास

नेपाली कामदारलाई समस्यामा पार्ने खाडी र मलेसियाका ६७ कम्पनी कालोसूचीमा

नेपाली कामदारलाई समस्यामा पार्ने खाडी र मलेसियाका ६७ कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। 

 

वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलीप चापागाईंले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन्। 

 

विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका ६, साउदी अरेबियाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा परेका रोजगारदाताले श्रमिकलाई सम्झौता अनुसार सेवा, सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको छ। 

 

कालोसूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरिएको छ। कालोसूचीमा परेका कम्पनीमा जाने कामदारको भिसा प्रमाणीकरण नगर्न सम्बन्धित देशका कूटनीतिक नियोगलाई जानकारी गराइसकेको महानिर्देशक चापागाईंले बताए। कालोसूचीमा राखिएका रोजगारदातासमक्ष श्रमिक आपूर्ति गरे त्यस्ता म्यानपावरलाई कारबाहीमा गरिने विभागले जनाएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

विदेश कालोसूची रोजगारदाता

विशेष