News

ट्राफिक चेकिङमा चल्छ सबैभन्दा बढी घुस

ट्राफिक चेकिङमा चल्छ सबैभन्दा बढी घुस

काठमाडौँ । ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा चालकले बढी घुस दिन खोज्ने गरेको पाइएको छ । प्रहरी तथा सर्वसाधारणका यस्ता व्यवहारमा नियन्त्रण गर्न भन्दै प्रहरीले सुरु गरेको घुस लिने र दिने दुवैलाई कारबाहीमा ल्याउने अभियानले यस्तो देखाएको हो । घुस दिने र लिने दुवै समाजका शत्रु भएको र यस्ता कार्यबाट गलत प्रवृत्ति बसेको भन्दै प्रहरीले यस्तो अभियान सुरु गरेको थियो ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा बढी घुस दिन खोज्ने भेटिएको बताइन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, कागजात नभएका तथा कागजात अद्यावधिक नगर्ने सर्वसाधारणले प्रहरीलाई प्रभावमा पार्नका लागि यस्तो अनुरोध गर्ने, कागजातका बीचमा रकम राखेर दिनेजस्ता गतिविधि गर्ने गरेको पाइएको प्रवक्ता सिंहले बताइन् ।

 

हालसम्म प्रहरीलाई घुस दिएर प्रभावमा पार्न खोज्ने ३६ भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूलाई समेत प्रचलित कानुनअनुसार मुद्दा चलाउने र घुस दिएको अवस्था तथा रकमको परिणामलाई आधार बनाएर सोहीअनुरूपको कारबाही गर्ने गरिएको छ । यस्तो अवस्थामा २ सयदेखि ३ हजार रुपैयाँसम्मको रकम दिने गरेको पाइएको छ ।

 

त्यसपछि सर्वसाधारणले घुस दिन खोज्नेमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचलगायतका पर्छन् । यस क्रममा आफ्नो गलत गतिविधि ढाकछोप गर्न तथा सम्भावित कारबाहीबाट जोगिन उनीहरूले यस्तो हर्कत गर्ने गर्दछन् । प्रहरीले यसका लागि फिल्डमा खटिने प्रहरी अधिकृत तथा जवानको गतिविधिलाई अनुगमन गर्न छुट्टै प्रहरीको टोली खटाउने गरेको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

ट्राफिक प्रहरी घुस

विशेष