विदेश
थाई राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य
एजेन्सी । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवारसमेत बन्न नपाउने भएकी छन् । गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।
थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन् । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए ।
उनी अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् । उनको घोषणापछि थाईल्याण्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो ।
आउदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सैनिक विद्रोहमार्फत् राजनीतिमा आएका प्रयुतले यस पटकको निर्वाचनमार्फत् आफूलाई नागरिक नेताका रुपमा स्थापित गराउने प्रयासमा छन्। सैन्य विद्रोहबाट पदच्युत गरिए पनि थाईल्याण्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ ।
उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाइन्छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो ।
त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । तर उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनीहरु अहिले निर्वासनमा छन् भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गरेकी छन् ।
थाई राजकुमारी
थाईल्यान्ड