विदेश

प्रियंका गान्धीको 'रोड शो'मा कांग्रेस प्रवक्तासहित ५० बढीको मोबाइल चोरी

प्रियंका गान्धीको 'रोड शो'मा कांग्रेस प्रवक्तासहित ५० बढीको मोबाइल चोरी

भारतीय कांग्रेसी महासचिव प्रियंका गान्धी वाड्राले सोमबार लखनऊमा मेगा रोड शो गरिन् । लोकसभा चुनाव अभियानलाई मध्यनजर गर्दै प्रियंकाले आफ्ना भाइ कांग्रेसका अध्यक्ष राहुल गान्धी र प्रश्चिमी उत्तर प्रदेशका पार्टी संयोजक जोतिरादित्य सिंधियाका साथमा लखनऊमा रोड शो निकालेकी हुन् ।

 

उक्त शो मा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रह्यो भने कांग्रेस कार्यकर्ताले उनको एक झलक आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गर्नका लागि उत्साहित देखिए । तर रोड शोमा जम्मा भएका त्यसै भिडमा चोरहरूले आफ्नो जादू देखाएर ५० भन्दा बढी मोबाइल चोरी गरेको खबर आएको छ ।

 

प्रियंकाको रोड शो लखनऊ एयरपोर्टबाट कांग्रेस कार्यालय तक जाँदै थियो । उक्त शोका क्रममा ठूलो भिड रोडमा हिँडिरहेको थियो । कयौँ चोर पनि उक्त भिडमा सहभागी बनेर मौकामा चौका हाने । प्रियंकाको भिड लखनऊको सरोजनीनगर प्रहरी चौकी नजिक पुग्दा कयौँ कार्यकर्ताको मोबाइल चोरी भएको थाहा भयो ।

 

कांग्रेसका कार्यकर्ताले उक्त क्षेत्रमा मोबाइल चोरीको आरोपमा एकजनालाई पक्राउसमेत गरेर प्रहरीलाई बुझाए । उक्त व्यक्तिको साथमा चोरीको मोबाइल नभेटिएपछि उसलाई प्रहरीले छोडिदिएको थियो । कांग्रेस कार्यकर्ता अभिषेख सिंहले बताएअनुसार उनका साथी र अरू व्यक्तिका गरी ५० बढी मानिसका मोबाइल र पर्स चोरी भएका छन् । उक्त घटनाका बारेमा उजुरी सरोजनीनगर प्रहरी निरीक्षक त्रिलोकी सिंहलाई दिएता पनि उनले उजुरी दर्ता नगरेको बताइएको छ ।

 

र्‍यालीका क्रममा ड्युटीमा रहेका एसिएम प्रशासनको फोन पनि चोरी भएको छ । अर्कोतर्फ चोरले कांग्रेस कार्यकर्ता र नेताहरूका साथै कांग्रेस प्रवक्तासमेतका मोबाइलमा चोरले हातको सफाइ देखाएका छन् । उक्त क्रममा मिडियाकर्मीका मोबाइल पनि चोरी भएको छन् । प्रहरी साइबर सेलका सिओ अभय मिश्राले ५० भन्दा बढी व्यक्तिले मोबाइल चोरीको उजुरी दिएका छन् । उनका अनुसार मोबाइल चोरीको छानबिन सुरु भएको छ । मोबाइल सर्विलिंसमा लगाएर अनुसन्धान गरिँदै छ ।

भारतीय कांग्रेस प्रियंका गान्धी

विशेष