News

बलात्कार आरोपमा प्रहरी हवल्दार हिरासतमा

बलात्कार आरोपमा प्रहरी हवल्दार हिरासतमा

दाङ । दाङमा प्रहरी हवल्दारबाटै एक महिला बलात्कृत भएकी छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका फूलवारी स्थित ईलाका प्रहरी कार्यालयका एक हवल्दारले गाउँकै एक महिलालाई बलात्कार गरेका हुन् । प्रहरीले बलात्कारमा संलग्न भनिएका हवल्दारको नाम भने खुलाएको छैन। पीडित महिलाका ससुराका अनुसार बिहीबार राती घरमा कोहि नभएको समयमा ति हवल्दारले घरभित्रै पसेर बलात्कार गरेका थिए। महिलाका श्रीमान पाँच महिना देखि रोजगारीका लागि भारतमा छन्।

 

पीडित महिलाका ससुराका अनुसार राती १० बजेतिर ति हवल्दारले आफूलाई प्रहरीको परिचय दिँदै महिलाको घरमा पानी माग्न पुगेका थिए। उनले काम छ भन्दै ढोका खोल्न लगाएका थिए। त्यस क्रममा श्रीमानका बारेमा समेत सोधपुछ गरेका थिए। पीडित महिलाले आफूले प्रतिकार गर्न खोज्दा ति हवल्दारले दाउराले हिर्काउन खोजेको समेत बताइन्। ति हवल्दारले कसैलाई यो कुरा भनेमा उनका चार वर्षीया छोरालाई मारिदिने समेत धम्की दिएको ति महिलाले प्रहरी समक्ष बयान दिएकी छिन्।

 

बलात्कार गरेर ति प्रहरी निस्कीएपछि महिलाले आफन्तहरुलाई फोन मार्फत जानकारी गराएकी थिइन्। गाउँलेहरु जम्मा भएर ईप्रका पुगेका थिए। पीडित परिवारले ति प्रहरी हवल्दार विरुद्ध ईलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ। बलात्कार आरोप लागेका ति हवल्दारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। साथै पीडित महिलाको स्वास्थ्य जाँच र थप बयान लिने काम पनि भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भिम कार्किले जानकारी दिए ।

बलात्कार प्रहरी हवल्दार दाङ

विशेष