News

दलित भन्दै घरनिकाला !

दलित भन्दै घरनिकाला !

सल्यान । जिल्लाको कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले दलित भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् । २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासुससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट लखेटे,’ उनले भनिन्, ‘म त जसरी पनि बाँच्थे होला, छोरीलाई के खुवाएर बचाउने भन्ने चिन्ता छ ।’

 

चार महिनाअघि घरबाट निकालिएकी उनी कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारिरहेकी छन् । यही पीडा पोख्न उनी अहिले सदरमुकाम आएकी हुन् । श्रीमानका साथै सासू प्रीतिकला र ससुरा भागीराम मिलेर घरबाट निकालेको उनले बताइन् । ‘आहारा नपुगेर छोरी रोइरहन्छे, कहाँबाट ल्याएर खुवाउँ ?’ उनले भनिन्, ‘आफन्त र गाउँघरकाले पनि कति दिन खान दिउन् ?’ घरनिकाला गर्नेविरुद्ध उजुरी गरे पनि कारबाही नभएको बताइन् ।

 

एलिसाले जातीय छुवाछूतको पीडा बिहे भएको केही दिनमै पाउन थालिसकेकी थिइन् । सासूससुराले बिहेलगत्तै छोराबुहारीलाई घरबाट निकालेका थिए । तर, श्रीमान् टीकाराम घर फर्केर बाआमासँग बस्न थाले भने एलिसा माइतीको शरणमा पुगिन् ।  यो समाचार कान्तिपुुर दैनिकबाट लिइएको हो ।

दलित  सल्यान

विशेष