विदेश

बजेट पारित नभएपछि स्पेनका प्रधानमन्त्री गरे निर्वाचनको घोषणा

बजेट पारित नभएपछि स्पेनका प्रधानमन्त्री गरे निर्वाचनको घोषणा

एजेन्सी । स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । 

 

क्याटलोनियासम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि उनले निर्वाचन घोषणा गर्नु परेको हो । स्पेनमा गत चार बर्षको अवधिमा अहिले तेस्रो पटक निर्वाचनको मिति घोषणा भएको समाचारमा जनाइएको छ । 

 

'दुई विकल्पहरूमध्ये बजेट विना केही नगरी बस्ने वा स्पेनी नागरिकहरूलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो रोजेँ,' प्रधानमन्त्री सान्चेजले संवाददाताहरूसँग भने । नयाँ प्रधानमन्त्रीका रुपमा ४६ बर्षीय सान्चेजले आठ महिना अगाडि मात्रै जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानमन्त्रीलाई अविश्वासको मतको प्रस्ताव राखेर पराजित गरी उनी नाटकीय तरिकाले प्रधानमन्त्री बनेका थिए ।

 

संसदमा क्याटलोनिया पृथकतावादीहरूको तर्फबाट १७ सांसद रहेका छन् । उनीहरूले प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि उनको बजेट प्रस्ताव अस्विकृत भएको हो । उनीहरूले यसअघि प्रधानमन्त्रीको निर्वाचनका बेलामा सान्चेजलाई नै मतदान गरेका थिए । 

 

त्यसबाहेक सोसलिष्ट पार्टी, तत्कालीन विपक्षी पार्टी पोडेमोस र बास्कजस्ता क्षेत्रीय पार्टीहरुले पनि सान्चेजलाई मतदान गरेका थिए । 
स्पेनका समाजवादी नेता सान्चेज तत्कालीन प्रधानमन्त्री मारियानो राहोएलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राहोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री भएको समाचारमा जनाइएको छ ।

स्पेन पेड्रो सान्चेज

विशेष