News अपराध सुरक्षा

पाठकमाथि अख्तियारले नै छानबिन गर्ने, कसुर पुष्टि भए ११ वर्षसम्म कैद

पाठकमाथि अख्तियारले नै छानबिन गर्ने, कसुर पुष्टि भए ११ वर्षसम्म कैद

काठमाडौं । घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सकिने राय दिएपछि अख्तियारलाई सहज भएको हो । यसअघि अख्तियार अलमलमा थियो ।

 

‘छानबिन गर्न मिल्ने राय पाएपछि अब हामी विस्तृत अनुसन्धानमा जान्छौँ,’ अख्तियारका एक अधिकारीले भने । केही दिनभित्रै यससम्बन्धी निर्णय हुने उनले बताए । नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । 

 

घुसको प्रमाण जुटाउन भने अख्तियारलाई कठिन देखिन्छ । घुस दिने पक्षले उजुरी दिए सहज हुने आयोगका एक अधिकारीले बताए । अहिलेसम्म उजुरीकर्ताले अख्तियारलाई जानकारी दिएको छैन । जसकारण घुस दिने पक्ष पनि सजायको भागीदार हुन सक्छ । कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ । 

 

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ ।  कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।  यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
 

राजनारायण पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष