सेयर बजारको उमंग एक दिन पनि टिकेन, दोस्रो दिनमै १२ अंकको गिरावट
काठमाडौं । अर्धवार्षिक मौद्रिक समिक्षाको भोलिपल्ट एक्कासी बढेको सेयर बजार एक दिन पनि टिक्न सकेन । मंगलबार २२ अंकले वृद्धि भएको नेप्से बुधबार एकाएक १२ अंकले घटेको छ ।
आज नेप्से परिसूचक १२.७२ अंकले घटेरर १११२.२३ बिन्दुमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले तरलता सहज बनाई कर्जाको ब्याजदर घटाउने उपाय सहित मौद्रिक समिक्षा सार्वजनिक गरेको भोलिपल्ट २२ अंकले बढेको बजार बैंकर र व्यवासयीको असन्तुष्टि बाहिरीएपछि १२ अंकले ओरालो लागेको हो ।
ब्याजदर घट्ने संकेतले मंगलबार २२ अंकले उकालो लागेको बजार बुधबार बैकर्स संघको बैठकले राष्ट्र बैंकको कदमले बैंकहरु समस्यामा पर्ने र नाफा घट्ने निकस्र्ष निकालेपछि यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।
यस दिन १६२ कम्पनीहरुका ५ लाख ८१ हजार १३८ कित्ता शेयर खरिद बिक्री भए भने १६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो मंगलबारको तुलनामा करिब ६ करोड रुपैयाँले कम हो । मंगलबार २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १० समुह मध्ये उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै बढेको छ । उत्पादन तथा प्रशोधनको ८.६९ अंकले बढेको छ । बाँकी ९ वटै समुहको सुचक ओलारो लागेका छन् ।
सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक १६७.८३ अंकले घटेको छ । त्यस पछि निर्जीवन बीमा कम्पनीको १०५.५४ अंकले सकारात्मक भएको छ । यस्तै हाइड्रोपावर २०, माइक्रोफाइनान्स १९.३३, विकास बैंक १३.४२, वाणिज्य बैंक ८.७१, होटल ७.८३, अन्य ४.२७ र फाइनान्स ०.३१ अंकले ओरालो लागेका छन् ।
यस दिन कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघेको छैन् । अपर तामाकोशीको सबै भन्दा धेरै ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नविल बैंकको संस्थापक ९० लाख र सर्वसाधारण शेयर ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबै भन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । श्रीराम सुगर मिलको शेयर मूल्य ९.४० प्रतिशतले बढेको छ । यस्तै जेविल्स फाइनान्सको
शेयरधनीहरुले आजको कारोबारबाट ३.०८ प्रतिशतले कमाएका छन् ।