News देश

शरीर छोएको निहुँमा डोम आमाछोरी कुटिए, मिलापत्र गर्न प्रहरीको दबाब

शरीर छोएको निहुँमा डोम आमाछोरी कुटिए, मिलापत्र गर्न प्रहरीको दबाब

सिरहा । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो ।

 

३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।

 

३ फागुनमै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले बताए । प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो ।

 

कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ । घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए ।

 

‘लहान ल्याएर उपचार गराएँ,’ उनले भने, ‘सात हजार पाँच सय रुपैयाँ खर्च भयो । फेरि केही गर्लान् कि भन्ने त्रासमा छौँ ।’ अमिरका बहिनीको विवाहका लागि उदयपुर करैयाबाट माइती आएकी थिइन् । ‘घरमा बसिरहेका आमाछोरीलाई उनीहरूले सानो जातको भएर ठूलो कुरा गर्ने भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गरेछन्,’ दुःखीले भने, ‘म काम गर्न लहान आएको थिएँ । घटना थाहा पाएपछि घरमा पुग्दा कुट्नेहरु हिँडिसकेका रहेछन् ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

कुटपिट

विशेष