News

शिक्षकले पाँच वर्षभित्र शैक्षिक योग्यता पुर्‍याउनै पर्ने नयाँ मापदण्ड

शिक्षकले पाँच वर्षभित्र शैक्षिक योग्यता पुर्‍याउनै पर्ने नयाँ मापदण्ड

काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकले अब योग्यता नपुगेको भए ५ वर्षभित्र योग्यता पुर्‍याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ ।

 

प्रस्तावमा वालविकास केन्द्र(इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ । महासंघका अध्यक्ष वावुराम थापाले भने– 'मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्था गर्न लागेको भए हामी मान्दैनौँ।'

 

उनले पाच वर्षभित्र योग्यता पुर्‍याउने विषय हटाउनुपर्ने बताए । उनले भने–स्नातक तह पूरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पाँच वर्षभित्र स्नातकोत्तर तह पुरा गर्न सकिन्छ । उनले मस्यौदामा पाच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने बताए । उनले सरकारले आधारभूत र मावि तहका लागि तयार गरेको योग्यता समयको माग अनुसार भएको तर्क राख्दै अध्ययन सम्पन्न गर्न समयावधी थप गर्नुपर्ने दावी गरे ।

 

मस्यौदामा ऐन प्रारम्भ हुँदा बखत तत्काल प्रचलित कानुन बमोजिम योग्यता पूरा गरी नियुक्ति भएका प्राथमिक तह, निम्न माध्यमिक वा विशेष शिक्षा प्रदान गर्ने शिक्षकले ऐन प्रारम्भ भएको पाँच वर्षभित्र योग्यता पुरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरी अर्थ र कानून मन्त्रालयमा पेश गरेको ऐनको मस्यौदामा शिक्षकको रुपमा कार्यसम्पादन गर्दा तोकिए बमोजिम आधारभुत र सेवा प्रवेश र त्यसपछि समय–समयमा आवधिक तालिम लिनुपर्ने उल्लेख गरिएको छ । यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो।

शिक्षा मन्त्रालय शिक्षक शैक्षिक योग्यता

विशेष