पाकिस्तानी कैदीको भारतीय जेलमा ढुंगाले हानेर हत्या
बीबीसी । भारतको राजस्थान स्थित जयपुरको केन्द्रीय जेलमा रहेका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटेर हत्या गरेका छन् । पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानेर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार घटना बुधबार अपरान्हको हो । जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो । चार कैदीको पहिचान भइसकेको गौडले बताए ।
घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए । घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए । शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए ।
पाकिस्तानी कैदी भारतीय जेल