News

 छाया कम्प्लेक्स विवाद : सम्पदा संरक्षण अभियन्तासँग प्रहरी सोधपुछ

 छाया कम्प्लेक्स विवाद : सम्पदा संरक्षण अभियन्तासँग प्रहरी सोधपुछ

काठमाडौं । छाया कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।

 

प्रधानले आफूहरुलाई एक घन्टाभन्दा बढी समय प्रहरी नायब उपरीक्षक विनोद घिमिरेको कार्यकक्षमा राखिएको जानकारी दिए। छाया कम्प्लेक्सका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको हो। महानगरीय प्रहरी प्रभाग दरबारमार्गका इन्चार्ज प्रहरी नायब उपरीक्षक घिमिरेले शान्तिसुरक्षा पाऊँ भनी उजुरी परेको आधारमा बोलाएर कुराकानी गरिएको बताए। उनले भने,‘उजुरी आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरिएको हो।’

 

प्रधानलाई प्रहरीले बुधबार बिहानै टेलिफोन गरी उपस्थित हुन भनेपछि उनका समर्थकहरु दरबारमार्गस्थित प्रभागमा पुगेका थिए। उनीहरुलाई दरबारमार्ग प्रहरीले बाहिर पठाएर उजुरी परेका चारजनासँग सोधपुछ गरेको थियो। सोधपुछका क्रममा छाया कम्प्लेक्सका निर्देशक सुमन पाण्डे र प्रबन्ध निर्देशक श्रेष्ठ पनि उपस्थित थिए। चारजनालाई सोधपुछ सकेपछि प्रहरी नायब उपरिक्षक घिमिरेले पाण्डे र श्रेष्ठसँग एक घन्टा छुट्टै कुराकानी गरेका थिए। पाण्डे र श्रेष्ठले आफूहरु कडारुपमा प्रस्तुत हुने धम्की दिएको प्रधानले बताए। प्रहरी नायब उपरीक्षक घिमिरेले छाया कम्प्लेक्समा कुनै किसिमको अवरोध उत्पन्न नगर्न चेतावनी दिएको बुझिएको छ। ‘विरोध गर्ने भए बाहिर गर्नू, भित्र गएर त्यस्ता गतिविधि नगर्नू,’ घिमिरेको भनाइ उद्धृत गर्दै प्रधानले भने। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

छाया कम्प्लेक्स नेपाल प्रहरी सम्पदा अभियन्ता

विशेष