News देश

नयाँ कित्ताकाट र घरको नक्सापास बन्द

नयाँ कित्ताकाट र घरको नक्सापास बन्द

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र नयाँ कित्ताकाट र घरको नक्सापास बन्द गरेको छ । नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले कित्ताकाट र घरको नक्सापास बन्द गरेको हो । 

 

मनपरी रुपमा गरिएको कित्ताकाटले कृषियोग्य भूमि खण्डीकरण हुँदै गएकाले सो निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए । 'नगरको गुरुयोजना नबन्दासम्मका लागि कित्ताकाट र नक्सापास रोक्ने निर्णय गरेका छौँ,' उनले भने, 'गुरुयोजना निर्माणको प्रक्रियामा रहेकाले हाललाई लगत कट्टा भएका सडक क्षेत्रमा घर निर्माण प्रक्रिया बमोजिम खुल्ला गरिनेछ ।' साविकको वडा नं १ देखि १२ सम्मका गुरुयोजनाका सडकसँग जोडिएका बाहेकका जग्गा र रत्नराजमार्गदेखि दक्षिणतर्फका वडा नं २, ३, ९, १० र ११ मा जग्गा कित्ताकाट तथा घरको नक्सापास रोक्का गर्ने निर्णय गरिएको छ । 

 

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गत पुसमा कृषियोग्य भुमि संरक्षण गर्न परिपत्र जारी गरेको थियो । कृषियोग्य भूमिको संरक्षण गर्न एक हप्ता अघि समितिसमेत गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिवेदनअनुसार सो निर्णय गरिएको हो । सुर्खेत उपत्यकालाई व्यवस्थित र सुविधायुक्त बनाउनका लागि पहल थालिएको सुवेदीको भनाइ छ ।

सुर्खेत कित्ता काट

विशेष