बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु
ढाका । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी ७० जनाकाे मृत्यु र दजनाै घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् भने कैयौँको अवस्था गम्भीर रहेको ढाका प्रहरीले जनाएकाे छ ।
ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट हुँदा आगलागी भएकाे हाे । आगलागीले यहाँका कैयौँ घर जलेर नष्ट र जनधनको ठूलो क्षति भएकाे छ ।
आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनका अनुसार सिलिण्डर पड्किएर आगलागी भएकाे घरसँगै रहेको अर्काे घरमा रासायनिक पदार्थहरु राख्ने एक गोदाम रहेकोले आगो झन् बढेको हाे ।
बुधबार राति करिब १० बजेतरि शुरु भएकाे आगलागी नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको र बिहीबार ३ बजेमात्र आगो नियन्त्रणमा आएकाे रिवनले बताए ।
अग्नि नियन्त्रकहरुले अहिले पनि जलेका घरका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका छन् भने प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको छ ।