News

मेलम्चीको बाँकी काम सक्न समितिले सुरु गर्‍यो नयाँ ठेक्का प्रक्रिया

मेलम्चीको बाँकी काम सक्न समितिले सुरु गर्‍यो नयाँ ठेक्का प्रक्रिया

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ ।

 

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए । ‘बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्काको तयारी भईरहेको छ’, उनले भने, ‘हप्तादिन भित्र ठेक्का लगाउने तयारी गरेका छौं ।'

 

मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वक्र्स र फिनिसिङ सहितका ७ वटा काम सम्पन्न हुन बाँकी रहेको आयोजनाले जनाएको छ । ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

भुक्तानी नदिए काम गर्न दिन्नौँः संघर्ष समिति

निर्माणस्थल छोडेर इटालीयन ठेकेदार कम्पनी सिएमसी भागेपछि मेलम्चीको काम २ महिनादेखि ठप्प अवस्थामा छ । कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि समितिले ठेक्का तोडेको घोषणा गरिसकेको छ । विश्वव्यापी रुपमा उक्त कम्पनी आर्थिक संकटमा परेको भन्दै निर्माणको काम छोडेर कम्पनी भागेको थियो ।

 

बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का आह्वान गरे काम गर्न नदिने भन्दै केही ब्यक्ति लागि परेका छन । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिको नाममा केही दिन अघि मात्रै राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरिएको छ ।

 

समितिले मेलम्चीमा कार्यरत नेपाली व्यवसायीको भुक्तानीको विषय नटुगिए सम्म कुनै पनि काम अघि नबढाउन चेतावनी दिएको छ । नेपाली व्यवसायीले मुख्य ठेकेदार सिएमसीसँग डेढ अर्ब भुक्तानी लिन बाँकी रहेको बताउदै आएका छन । यो खबर आजको नेपाल समाचार पत्रबाट लिइएको हो ।

मेलम्ची खानपानी

विशेष