News

निर्मला हत्या काण्ड : अनिश्चितकालीन धर्ना तोड्दै अभिभावक

निर्मला हत्या काण्ड : अनिश्चितकालीन धर्ना तोड्दै अभिभावक

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् । 

 

उपचारका लागि काठमाडौं जाँदै

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान्–श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन् । 

 

निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए । ‘मलाई माघमै डाक्टरले चेकचाँजका लागि बोलाएका थिए,’ यज्ञराजले भने, ‘पैसा नभएका कारण जान सकिनँ ।’ आफूले सेवन गर्दै आएको औषधि पनि सकिएको उनले बताए । यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीलाई टाउको दुख्ने, शरीर फुल्नेजस्ता समस्या देखिएको छ । लक्ष्मीले आफ्नो परिवारलाई सरकारले न्याय दिन आलटाल गरेको गुनासो गरिन् । काठमाडौंमा उपचार गराएपछि फर्केर पुनः आन्दोलन थाल्ने उनले जानकारी दिइन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

निर्मला पन्त

विशेष