विदेश

अमेरिकी सैनिकको त्रास देखाउँदै मदुरोले गरे ब्राजिलसँगको सीमा नाका बन्द

अमेरिकी सैनिकको त्रास देखाउँदै मदुरोले गरे ब्राजिलसँगको सीमा नाका बन्द

भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले बिहीबार रातिदेखि ब्राजिलसँगको सीमा नाका बन्द गरेको घोषणा गरेका छन्। मदुरोले टेलिभिजनको सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन्।

 

उनले कोलम्बियासँगको नाका पनि बन्द गर्नेबारे सोचिरहेको बताए। यसअघि उनले आफ्नो उत्तरी तटतर्फको समुन्द्री र हवाइ सीमा बन्द गरेको घोषणा गरेका थिए। देश बाहिरबाट आएको मानवीय सहायतालाई रोक्न यस्तो कदम चालेको बिबिसीले जनाएको छ।

 

मदुरोले मानवीय सहायताका नाममा अमेरिकी सैनिक आफ्नो देशमा हस्तक्षेप गर्न गर्न लागेको आरोप लगाउँदै आएका छन्। कोलम्बियासँग सीमा जोडिएको नगर कुकुटामा गत साता अमेरिकी सेनाका जहाज राहत सामग्री बोकेर आएपछि मदुरोले आफ्नो भनाइलाई दोहोर‍्‍याएका हुन्।

 

ब्राजिल सरकारले अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई मन्यता दिनेमध्ये एक हो। उसले पनि भेनेजुयलामा सहायता सामग्री पठाएर सहयोग गर्ने बताएको थियो। मदुरोले नाकाहरू बन्द गरे पनि आफूले आफैँलाई अन्तरिम राष्ट्रिपति घोषणा गरेका ह्वान ग्वाइदो कोलम्बियाको सीमा तर्फ लागेका छन्।

 

विपक्षी नेता ग्वाइदो अन्तर्राष्ट्रियस्तरबाट प्राप्त सहयोग लिन स्वयंसेवक र समर्थकहरूले भरिएका गाडीको लस्करको नेतृत्व गर्दै राजधानी क्याराकसबाट कोलम्बियासँग सीमा तर्फ लागेका हुन्। कोलम्बियाको सीमामा रहेको कुकुटा क्याराकसबाट झण्ड ९ सय किलोमिटर टाढा रहेको छ। त्यहाँ पुग्न उनलाई झण्ड १३ घण्टा लाग्ने बताइएको छ। यसक्रममा उनले थुप्रै ठाउँमा प्रहरीको अवरोध खेप्नु पर्ने बताइएको छ।

भेनेजुयला

विशेष