News

लगातारको हिमपातले याकचौंरी भोकै

लगातारको हिमपातले याकचौंरी भोकै

मनाङ । दस दिनयताको हिमपातले पूरै मनाङ सेताम्य छ । अघिल्लो मंगलबार रातिदेखि हिमपातले ढुंगामाटो, काठदाउरा, घाँसेमैदान, सडक, गोरेटो सबै पुरिएका छन् । धेरै मानिस हिउँ पर्नुअगावै काठमाडौं वा सहरबजार झरे । भएका मानिस घरभित्रै रहन्छन् । याकचौंरी भने बाहिरै ।

 

केहीले हिमपातको सुइँको पाउनेबित्तिकै याकचौंरीलाई बस्ती नजिकै झारे । केही बाटामै रोकिए । केही अझै लेकमै छन् । जहाँ भए पनि, जहाँ रहे पनि यतिबेला याकचौंरी भोकै छन् । खाना पाएका छैनन् । यतिसम्म कि हिमपातले पानीसमेत पाएका छैनन् । चिसो सहन सक्ने क्षमता भए पनि अत्यधिक चिसो र हिमपातले याकचौंरीमा असर पारेको छ । बस्ती नजिकैको २ फिट हिउँदेखि माथिल्लो क्षेत्रका ३र४ फिटसम्ममा याकचौंरी भएको स्थानीय बताउँछन् ।

 

मनाङ ङिस्याङ गाउँपालिका ४, मनाङ गाउँका सोनाम छिरिङ घलेले हिमपात सुरुवात भएकै दिन गाउँ नजिकै आफ्ना ५५ वटा याकचौंरी ल्याएर राखे । हिमपात र अत्यधिक चिसाले ९ बाछाबाछीलाई घरभित्रै हुले । समुद्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाइको मनाङमा हिमपात जारी छ । २ फुट हिउँ जमेको छ । ‘चरण क्षेत्रमा सबै हिउँ छ । याकचौंरी १०र१२ दिनदेखि भोकै छन् । काटेर राखेको घाँस र गहुँको पीठो अलिअलि थियो । पानी छैन । हिउँ खाएर बसेको छ,’ उनले भने । उनका अनुसार एक महिनासम्म हिउँ परिरहे मर्न सक्छन् ।

 

केहीका गोठ अझै गुन्सङमै छन् । केहीका लेदर, याकखर्कमा छन् । केहीले गाउँमा ल्याए । उनका अनुसार पेम्पा छिरिङ गुरुङ, छिरिङ ङिमा गुरुङलगायतले याकचौंरीलाई गाउँ नजिकै ल्याए । मनाङ गाउँकै तेन्जिङ गुरुङको याकचौंरी अहिले याकखर्कमा छ । ४ जना मिलेर ६२ याकचौंरी पालेका छन् । याकखर्क ४ हजार मिटर उचाइमा छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

मनाङ याकचौंरी

विशेष