News

गौतमबुद्ध विमानस्थलः भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

गौतमबुद्ध विमानस्थलः भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना झण्डै रुग्ण अवस्थामा पुगेको थियो । 

 

आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि सुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन । 

 

चौध महीनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरवले बताए ।  

 

एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा थिए । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले रासससँग भने, “एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुशी छ ।” 

 

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो । 

 

आयोजना प्रमुख अधिकारीका अनुसार आजका दिनसम्मको मूल्याङ्कन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि सुरु हुँदैछ । कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ ।  

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले त दैनिकजसो नै आयोजनाको प्रगतिका बारेमा जानकारी लिँदै आउनुभएको छ । ठेकेदारले तोकिएअनुसार काम गरेका छन् । निकट भविष्यमै एउटा मात्रै विमानस्थल हुनाको पीडाबाट नेपालले मुक्ति पाउँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । 
 

सरकारले पछिल्लो पटक थप रु चार अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । अधिकाशं ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ । 

 

हालै मात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालनमा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ छ । रासस

गौतमबुद्ध विमानस्थल भौतिक प्रगति

विशेष