News विदेश

संसदमा तीन मिनेट ढिला पुगेका मन्त्रीको राजिनामा माग

संसदमा तीन मिनेट ढिला पुगेका मन्त्रीको राजिनामा माग

काठमाडौं । जापानमा प्रतिनिधि सभा संसदमा मन्त्री तीन मिनेट ढिला पुगेपछि मन्त्रीको राजिनामा माग भएको छ । 
बिहिबार बजेट समितिको बैठकमा ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका संसदीय बैठकमा ३ मिनेट ढिलो पुगेपछि विपक्षीहरुले मन्त्रीको राजिनामा माग गरेका हुन् । 

 

योसँगै उनीहरुले मन्त्री साकुरादाले संसदको अपमान गरेको समेत आरोप लगाएका छन् ।  
विरोधमा प्रतिपक्षले बैठक पाँच घण्टा बहिष्कार गरेका थिए ।

 

मन्त्री साकुरादाले श्रृंखलाबद्ध रुपमा गल्ती गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् । उनी विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहेका छन् ।

उनले गत साता पौडीबाज रिकाको इकिलाई ल्युकेमिया रोग लागेको कारण आफू दुखी भएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । 
उनले भनेका थिए, ‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो । उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु ।’
उक्त अभिव्यक्तिपछि उनले क्षमा पनि मागेका थिए । 

 

सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए।

 

त्यस्तै गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए।

 

पटकपटक यस्ता अभिव्यक्तिबाट आलोचित बनेका मन्त्रीको विपक्षीहरूले बारम्बार राजीनामा माग गर्दै आएका छन्।

जापान

विशेष