News विदेश

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह

हवाना । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । 

 

चुनावको परिणाम आइतबार प्राप्त हुने अपेक्षा गरिएको छ । “हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,” राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताए । 

 

“हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं, हामी भेनेजुएलाको पक्षमा छौं किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ ।” 

 

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोश पोखे । “कोलम्बियाको सीमामा केही राष्ट्रपतिहरु छन्, र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन् ।” 

 

क्युबाले भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्युबाले अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ । 

 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिएका छन् । यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पु¥याइएको छ । 

 

क्युबाली अधिकारीहरुले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन् । 

 

सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्व राष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गरेका थिए । 

 

अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसङ्ग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

 

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ । यी दुबै कार्यहरु कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ । 

 

साथै, संविधानले समाजवाद मुलुकको एकमात्र विचारधारा हुने परिकल्पना गरेको छ । यो धारणामाथि क्याथोलिक चर्चले आपत्ति जनाएको छ । 

 

क्युबाका प्रतिबन्धित विपक्षीहरुले भने यसपटक मतदान बहिस्कार गरेका थिए । 

 

यस जनमतसङ्ग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न । 

विशेष