पाकिस्तानमा आक्रमणपछि भारतले भन्यो, ‘पाकिस्तानमा बसेका आतंकवादी मरे, सर्वसाधारणलाई केही भएको छैन’
काठमाडौं । भारतले मंगलबार बिहान पाकिस्तानको खैबरमा गरेको बमबारीमा आतंकवादीहरु मात्रै मारिएको दावी गरेको छ ।
१२ वटा भारतीय लडाकु विमानले पाकिस्तानमा आक्रमण गरेको थियो । सो हमलामा आतंकवादी समूह जैश–ए–मोहम्मदका सर्वोच्च नेता मसहुर अजहरका साला पनि मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
उता पाकिस्तानमा भने प्रधानमन्त्री इमरान खानले आपतकालीन बैठकको आह्वान गरेका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार भारतीय लडाकु विमानले बम झारेर तुरुन्तै भागेको दावी गरिएको छ । यता भारतीय सञ्चारमाध्यममा भने भारतले सफलतापूर्वक पुलवामा आक्रमणको बदला लिएको भन्दै खुसीयाली मनाइएको छ ।
पाकिस्तानी पक्षले लाइन अफ कन्ट्रोल (एलओसी) भारतले उल्लंघन गरेको दावी गरेको छ ।
भारतको हमलापछि धेरैको हताहत भए पनि पाकिस्तानी सञ्चारमाध्यममा भारतीय सेना भागेको भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छन् ।
भारती वायु सेनाको १२ वटा लडाकु विमान पाकिस्तान प्रवेश गरेर पाकिस्तानी खैबार पख्तुनवा क्षेत्रमा गरेको बमबारीमा कम्तिमा ३ सय जनाको ज्यान गएको छ । भारतीय लडाकु विमानले पाकिस्तानी भूमिका २१ मिनेटसम्म बमबारी गरेका थिए ।
भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी हमलामा ४४ जना भारतीय सेनाको मृत्यु भएपछि सो घटना पाकिस्तानमा लुकेर बसेको आतंकवादीले मच्चाएको भारतले दावी गर्दै आएको छ ।
त्यसपछि भारतले पाकिस्तानलाई विश्वबाट अलग्याइदिने चेतावनी दिएको थियो । पाकिस्तानतिर बग्ने नदीकोको पानी समेत भारतले रोक्ने निर्णय गरेको छ भने केही वस्तुमा भारतले नाकाबन्दी पनि लगाएको छ ।