विदेश

भारत र पाकिस्तानः सैन्य शक्ति कसको कति ?

भारत र पाकिस्तानः सैन्य शक्ति कसको कति ?

काठमाडौं । कश्मिरको भू–भागलाई लिएर दशकौँदेखि आमनेसामने भारत र पाकिस्तानको शत्रुतापूर्ण इतिहास पुरानो छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै दुई देशबीच कश्मिर मुद्दाका कारण ३ पटक युद्ध भइसकेको छ । कश्मीरको पुलवामामा गत फेब्रुअरी १४ मा विद्रोही समूह जैस–ए–मोहम्मदको आत्मघाती आक्रमणमा ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि दुई देशबीच तनावपूर्ण सम्बन्ध थप चर्केको हो। आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी समूहलाई प्रश्रय दिएको भन्दै पाकिस्तानले चर्को मूल्य चुकाउने चेतावनी दिए। सोहीअनुरुप भारतीय वायु सेनाको लडाकू विमानले ‘लाइन अफ कन्ट्रोल (एलओसी)’ पार गर्दै बालाकोटमा हजार किलो बम खसाल्यो।


 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भूूमिमा भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिइरहेको बेला पछिल्लो घटनाले दुई देशबीच नयाँ युद्ध सुरु हुने संकेत दिएको छ।भारतीय सेनाले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ। भारत र पाकिस्तान आणविक हतियारबाट सुसज्जित छन्। दुई देशबीचको सैन्य तागतबारे जनचासो बढेको छ। यी मुलुकहरु प्रतिस्पर्धी मात्र नभएर लामो समयदेखिका ‘दुश्मन’ का रुपमा रहेका छन्। भारत र पाकिस्तानमा एक अर्काविरोधी कार्यलाई ‘राष्ट्रवादी’ मानिनु सामान्य नै हो।

 

सेना
राष्ट्रिय स्वाधीनता र सुरक्षा अनि शत्रुसँग लड्ने एउटा महत्वपूर्ण अस्त्र सेना हो। पाकिस्तानभन्दा भारतसँग धेरै सेना छन्। सैनिक क्षमतासम्बन्धी विश्लेषण गर्दै आएको संस्था ग्लोबल फाइर पावरका अनुसार भारतमा १३ लाख ६२ हजार ५ सय सेना छन्। पाकिस्तानसँग भने ६ लाख ३७ हजार सेना छन्। भारतसँग ५९० लडाकू, ८०४ एट्याकर, ७०८ ट्रान्सर्पोट विमान तथा ७२० सैन्य र १५ एट्याकर हेलिकप्टर रहेको ग्लोबल फाइवरपावरले जनाएको छ। यस्तै पाकिस्तासँग ३२० लडाकू, ४१० एट्याकर, २९६ ट्रान्सर्पोट विमान तथा ३२८ सैन्य र ४९ एट्याकर हेलिकप्टर छन्। भारतीय वायुसेनामा १ लाख ३९ हजार ५ सय ७६ कार्यरत छन् भने पाकिस्तानी वायुसेना ७० हजार छन्। 
भारतीय नौसेनासँग एयरक्राफ्ट क्यारियर, १६ पन्डुब्बी, १४ डिस्ट्रोयर, १३ फ्रिगेट्स छन्। पाकिस्तानसँग ८ पन्डुब्बी, ९ फ्रिगेट्स छन्। भारतको नौसेना ६७ हजार तथा पाकिस्तानको नौसेना २६ हजार हाराहारी छन्।


मिसाइल र आणविक हतियार
दुई मुलुकबीच क्षेप्यास्त्र र आणविक हतियारमा पनि प्रतिस्पर्धा छ। भारतले कुनै क्षेप्यास्त्र प्रक्षेपण गर्ने बित्तिकै पाकिस्तानले पनि प्रक्षेपण गर्ने गरेको इतिहास छ। अलजजिराका अनुसार दुवै मुलुकसँग आणविक हतियार बोक्न सक्ने ‘ब्यालेष्टिक क्षेप्यास्त्र’ छन्। भारतसँग अग्नि–३ सहित ३ हजारदेखि ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने ९ प्रकारका क्षेप्यास्त्र रहेको वासिंगटनस्थित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) ले जनाएको छ।

 

पाकिस्तानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम चीनको सहयोगमा बनाएको छ। भारतको जुनसुकै स्थानमा मार हान्न सक्ने क्षेप्यास्त्र रहेको पाकिस्तानसँग सामान्य देखि मध्यम प्रकारका हतियार छन्। पाकिस्तानसँग रहेको शाहिन–२ क्षेप्यास्त्रले सबैभन्दा लामो दुरी अर्थात २ हजार किलोमिटरसम्म मार हान्न सक्छ। एसआईपीआरआईका अनुसार विष्फोटक पदार्थ बोक्ने वारहेड पाकिस्तानसँग कम्तीमा १ सय ४० वटा र भारतसँग १ सय ३० वटा छन्।

 

सैन्य बजेट
गत वर्ष भारतले कूल बजेटको २ दशमलव ६ प्रतिशत बजेट रक्षा क्षेत्रमा छुट्यायो। पाकिस्तानले ३ दशमवल ५ प्रतिशत छुट्याएको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्रोटेजिक स्टडिजले जनाएको छ। भारतको बजेटको आकार पाकिस्तानको भन्दा ठूलो छ। २०१८ मा भारतको रक्षा बजेट ५८ अर्ब डलर रहेको थियो भने पाकिस्तानको ११ अर्ब डलर।

 

स्टकहोम इन्टरनेशनल पिस रिर्सच इस्न्टिच्युट (एसआरपीआरआई)को रिर्पोटका अनुसार पाकिस्तानले सन् १९९३ देखि २००६ सम्म कूल बजेटको २० प्रतिशत सैन्य क्षेत्रमा खर्च गर्यो।’ कूल ग्राहस्थ उत्पादनका आधारमा पाकिस्तानले भारतभन्दा बढी प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चन्छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 
 

भारत र पाकिस्तान कश्मिर सैन्य शक्ति

विशेष