News

अब सेना र दुवै प्रहरीलाई एउटै गुणस्तरको कपडा

अब सेना र दुवै प्रहरीलाई एउटै गुणस्तरको कपडा

काठमाडौं । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्को वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् । समान गुणस्तरमा रङ मात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो । सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ । समितिमा सेना, नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि सदस्य छन् । समिति सदस्य नेपाल प्रहरीका एसएसपी दीपक थापाले समितिको बैठक तीनपटक बसिसकेको बताए । 

 

छिटै गुणस्तर निर्धारण गर्ने र साउनमा टेन्डर गर्दा सबैले एउटै स्पेसिफिकेसन निर्धारण गर्ने तय भएको छ । गुणस्तर एउटै हुने र ती सामानको रङ मात्र फरक गरी टेन्डर गर्ने सुरक्षा निकायको तयारी छ । ज्याकेट, सर्ट, पाइन्ट, स्विटर, जुत्तालगायत सबै स्केलका सामानको निश्चित गुणस्तर निर्धारण गर्न लागिएको छ । यसअघि सुरक्षा निकायले खरिद गर्ने कपडालगायत स्केलका सामानको नमुना परीक्षण गर्नसमेत भारत पठाउनुपर्ने अवस्था थियो । अब नेपालमै परीक्षण हुनेछ । 

 

नेपाली कम्पनीलाई अवसर 
सरकारले सुरक्षाकर्मीका लागि नेपालमै कपडा उत्पादन गर्ने योजना धेरै वर्षदेखि अघि बढाएको थियो । तर, त्यसले सार्थकता पाउन सकेको छैन । एउटै गुणस्तरको कपडा तीनै सुरक्षा निकायले खरिद गर्ने भएकाले नेपाली कम्पनीले उत्पादन गर्न सहज भएको छ । साथै यस्तो टेन्डर गर्दा स्वदेशी कम्पनीको उत्पादन विदेशी कम्पनीको भन्दा १५ प्रतिशतसम्म महँगो दररेटमा किन्न सक्ने प्रावधान भएकाले स्वदेशी उत्पादन नै खरिद हुने सम्भावना छ । 

 

सुरक्षा निकायको कपडा खरिदमा सधैँ चलखेलको आरोप लाग्ने गरेको छ । मिलेमतोमा ठेक्का दिने र कमसल सामान खरिद गरेर अनियमितता गर्ने आरोप लाग्दै आएको छ । अब तीनै सुरक्षा निकायमा एउटै गुणस्तर कायम गरिएपछि गुणस्तरमा एकरूपता आउनुका साथै अनियमितता पनि केही हदसम्म नियन्त्रण हुने अपेक्षा गरिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी

विशेष