आज देशभर वर्षा र हिमपात, शुक्रबारबाट मौसम सफा
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले यस वर्ष लगातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बताइन् । पश्चिमी वायु एकपछि अर्को निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन । बुधबार पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ ।
मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज मध्यरातिदेखि विस्तारै सुदूरपश्चिमबाट कम हुँदै पूर्वबाट बाहिरिने मौसमविद् नगरकोटीले बताइन् । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।
मौसम