हेलिकप्टर दुर्घटनाले सम्झाएको त्यो ठाउँ, हिउँ परेपछि देखियो रमझम
यो अवस्थामा रविन्द्र पत्नी बिद्यालाई चुनावमा उम्मेदवार बनाउँछु भन्नु कति उचित हो ?
काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ । उपत्यका आसपासमा क्षेत्रमा केही समयदेखि नै हिउँ परेपनि हिउँ हेर्न जाने सौभाग्य मिलेको थिएन । तर, आज भने भित्रैबाट हुट्हुटी चलेर आयो । अघिल्लो दिन भएको हेलिकप्टर दुर्घटनाले मन स्तब्ध थियो । दुर्घटना हुन त बाजा बजाएर आउँदन । तर पनि मन त हो । बरु बाजा नै बजाएर आए हुन्थ्यो भन्ने सोच आउने । अफीसको काम एकातिर थियो, तर अर्को मनले भन्दै थियो, ‘बाह्र वर्ष पछि परेको हिउँ ।
थाहा छैन अर्को पटक मरिन्छ कि बाँचिन्छ । आज त जसरी भएपनि जानै पर्छ ।’
फेरि अघिल्लो दिन दुर्घटनामा ज्यान गुमाएका हाइ प्रोफाइल व्यक्तिहरुको झलझली याद आयो । यति एयरका मालिक आङ छिरिङ शेर्पा आफ्नै कम्पनीको हेलिकप्टर दुर्घटनामा परेर अस्ताउँछन् भनेर कसले सोचेको थियो ? पर्यटन तथा नागरिक उड्डान मन्त्री त्यही समयमा त्यस्तो अवस्थामा बित्छन् भनेर कसले सोचेको थियो ? मृत्युको भय हुँदैन । अघिल्लो दिनको यही घटनाले मनमा हुटहुटी जगायो । अन्ततः केही नसोची म पनि हुइकिएँ गोदावारीतिर ।
तर, संयोग पनि त्यस्तै परेछ । घरबाट नै विमान दुर्घटनामा ज्यान गुमाउनेहरुलाई सम्झिएर हिँडेकी म हिउँ हेर्न त्यही ठाउँमा पुगेछु जहाँ केही वर्ष अघिमात्र विमान दुर्घटना भएको थियो । सेताम्मै हिउँले भरिएका वरिपरिका डाँडा लोभलाग्दा थिए । कतिका घरआँगनमै हिँउ परेको थियो । हामी भने २० किलोमिटरको दूरी पार गर्दै हिँउ हेर्न पुगेका थियौं । हाम्रो खुशी देखेर अचम्भित थिए उनीहरु । सायद बाह्र वर्षमा आफ्नो ठाउँमा पनि स्वदेशी पर्यटक आए भनेर आश्चार्यचकित थिए ।
गोदावारीको कोटडाँडामा हिउँ खेल्दा र त्यहाँ रमाएका अनुहार देखेर सोचें, ‘समय साँच्चै नै बलवान् छ । मानिसले केवल यसको रफ्तार समात्न जान्नुपर्ने रहेछ ।’
हुन त दुःख र सुख एकै सिक्काका दुई पाटा भनेर बच्चेदेखि पढ्दै आइयो । तर मान्छेलाई पर्दा व्यवहारमा उतार्न किन त्यति गाह्रो हुने होला ? मनमा यस्तै कुरा खेल्दै थियो । साथीले परबाट हिउँको डल्लो मतिर फाली । एकैछिनमा सोच मनोरञ्जनमा ‘डाइभर्ट’ भयो ।
सन् २०११ सेप्टेम्बर २५ मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका थिए । घटना भएको सोही ठाउँमा १२ वर्ष पछि हिउँ परेको थियो । जहां यही संयोगमा पुग्ने मौका मिल्यो ।
अहिले सामाजिक सञ्जाल रवीन्द्रमय भएको छ । मानिसको मृत्युपछि बढ्दो रुपमा सम्मान दिने चलन नेपालमा या संसारको जुनसुकै ठाउँमा नौलो कुरा होइन । राजनीतिमा सुरुवातीदेखि नै राम्रो छवि बनाएका मन्त्री रबिन्द्र वाइड बडी प्रकरणपछि नराम्ररी आलोचित भएका थिए । अहिले सामाजिक सञ्जालमा उनीमाथि बर्षिएका सहानुभूति देख्दा लाग्छ यो ती रबिन्द्र नै होइनन् जसले त्यतिविधी आलोचना खेपेका थिए ।
त्यसैले समय साँच्चै बलवान् छ । अंग्र्रेजीमा ‘ह्वाट गोज अराउन्ड कम्स अराउन्ड’ भनेजस्तै । हेलिकप्टर दुर्घटनाबारे समाचार पढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र पत्नी विद्या भट्टराईलाई दिएको सान्तवनामा झल्यास्स आँखा पुग्यो । विगतमा जननेता मदन भण्डारीको शोकको अवस्थामा विद्या भण्डारीले शोकलाई शक्तिमा बदल्दै चुनावमा उठेकी थिइन् । त्यही शक्तिकै कारण आज उनको अवस्था फेरिएको छ ।
पत्नी विद्यालाई रवीन्द्रको रिक्त स्थानमा हुने उपनिर्वाचनको उम्मेद्वार बनाउने चर्चा बाहिरिएको छ । यो कति उचित यस्तो बेलामा भन्ने लागिरह्यो ।