अब १६ हजार कर्मचारी समायोजन बाँकी

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि फाराम भरेकामध्ये अब करिब १६ हजार निजामती कर्मचारीलाई मात्र समायोजन गर्न बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार मंगलबारसम्म तीनवटै तहमा गरी ४५ हजार २ सय ७१ जना कर्मचारीको समायोजन सकिएको छ ।
संघमा ३१ हजार ६ सय ३५, प्रदेशमा ६ हजार १ सय ६४ र स्थानीय तहमा ७ हजार २ सय ५७ जना निजामती कर्मचारीको समायोजन भएको उनले जानकारी दिए । अहिलेसम्म फाजिलमा २ सय १५ जना कर्मचारीलाई समायोजन गरिएको छ । तिनमा सहायक कम्प्युटर अपरेटर, अपरेटर र विविध सेवाका छन् ।
सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ निजामती कर्मचारी रहने गरी दरबन्दी कायम गरेको छ । समायोजन हुन बाँकी करिब १६ हजारमध्ये वन, कृषि, इन्जिनियरिङ, तथ्यांकलगायत सेवाका बढी छन् । स्वास्थ्य सेवाअन्तर्गत २७ हजार कर्मचारीको समायोजन प्रक्रिया पनि अघि बढेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
कर्मचारी समायोजन