विदेश

काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु, यातायात मन्त्रीले दिए राजीनामा

काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु, यातायात मन्त्रीले दिए राजीनामा

एजेन्सी । इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

 

राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

 

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागीपछि विस्फोट भएको थियो ।

 

दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिएको यहाँको मन्त्रिपरिषद्ले जनाएको छ।

 

'यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिनुभएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ,' मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रेल दुर्घटना

विशेष